सर्लाही,३ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा ले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचय पत्र (नेशनल आईडी) को विवरण भर्ने प्रक्रिया पनि सँगसँगै सुरु गरिएको छ।

कार्यालयमा हाल नागरिकता र राष्ट्रिय परिचय पत्र दुवै सेवा करिब एक घण्टाभित्र उपलब्ध हुन थालेपछि सेवाग्राहीहरू सन्तुष्ट देखिएका छन्। एक सेवाग्राहीका अनुसार पहिले एउटै कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था थियो भने अहिले एकै ठाउँमा छिटो सेवा पाउँदा समय र खर्च दुवै बचत भएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल का अनुसार नागरिकता वितरणसँगै राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। यसले सरकारी सेवा प्राप्ति, पहिचान प्रमाणीकरण तथा डिजिटल प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले छुट्टै समय खर्च गर्नुपर्ने झन्झट हटेको छ। नागरिकता लिने प्रक्रियासँगै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने भएकाले सेवा अझ छिटो, छरितो र पारदर्शी हुने विश्वास प्रशासनले लिएको छ।

यस पहलले दीर्घकालीन रूपमा राज्यका डिजिटल अभिलेखहरू व्यवस्थित गर्न तथा नागरिकको सरकारी सेवामा पहुँच सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, कार्यालयले नागरिकहरूलाई नयाँ व्यवस्थाबारे जानकारी राख्दै आवश्यक सहयोग गर्न आग्रहसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *