सर्लाही,८ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमा सरकारको परीक्षण हुने बताएका छन् । राजस्व संकलन र खर्चबिच ठुलो खाडल रहेको अवस्थामा नागरिकका आकांक्षा पूरा हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण हुने उनले बताए । 

सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग आगामी बजेटको तयारीका सम्बन्धमा सोमबार छलफल गर्दै अर्थमन्त्रीले चुनौतीको सामना गर्न प्राथमिकता निर्धारण गरेर बजेट निर्माणकार्यमा लाग्नसमेत आग्रह गरे ।

‘नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा छ, यो सन्दर्भमा आगामी बजेटमा हामी सबैको सामूहिक परीक्षण हुनेछ,’ उनले भने, ‘राज्यको अनिवार्य दायित्व १३ खर्ब ३० अर्ब र राजस्व ११ खर्ब ८० अर्ब रहेको अवस्थामा नागरिकका आकांक्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण हुन्छ ।’

अर्थमन्त्रीले बजेटका लागि सिद्धान्तका रूपमा सुशासन तथा संस्थागत सबलीकरण, सदाचारिता नीतिको अवलम्बन, फराकिलो आर्थिक वृद्धिसहितको आर्थिक विकास, निजी लगानी, सूचना प्रविधिको विस्तार, हरित उत्पादन, पुँजी निर्माणका लागि पूर्वाधार विकास, मध्यमस्तरीय वर्गको विकास, विपन्न वर्गको उत्थान र सौम्यशक्तिको विस्तारजस्ता सैद्धान्तिक आधारलाई मध्यनजर राखी बजेट तथा कार्यक्रम छनोट गर्नुपर्नेमा जोड दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *