सर्लाही,८ वैशाख । मन्त्रीबाट १४ दिनमै बर्खास्त गरिएका दीपक साहले हिजो सामाजिक सञ्जालमा एक शब्दको स्टाटस लेखे-स्पष्टीकरण… । प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि देखाउन यही एक शब्द काफी थियो ।
आफ्नो पहुँचको प्रयोग गर्दै श्रीमतीलाई स्वाथ्य बीमा बोर्डमा जागीर लगाउन भूमिका खेलेको भनेर तत्कालीन श्रममन्त्री साहलाई प्रधानमन्त्री शाहले बर्खास्त गरेका थिए । मन्त्री बनेको १४ दिनमै पद गुमाएका उनले त्यसबेला आफूलाई स्पष्टीकरणको मौकासमेत नदिइएको गुनासो सार्वजनिकरूपमा नै गरे । हुन पनि उनलाई प्रश्न उठ्नसाथ सामान्य सोधपुछसमेत नगरी एकैपटक पदमुक्त गरिएको थियो ।
अहिले साहभन्दा चर्को विवादमा मुछिएका छन् गृहमन्त्री सुधन गुरुङ । केही दिनअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको पोल खुलेपछि उनी विवादमा तानिएका हुन् ।
सामाजिक सञ्जालमा उनको सम्पत्तिको स्रोत र व्यवसायी भट्टसँगको सम्वन्धलाई लिएर अनेकन प्रश्नहरू उठिरहेका छन् । तर, प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई जस्तो गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्ने संकेत देखाएका छैनन् ।
यसैबीच प्रधानमन्त्रीले गृहमन्त्रीलाई लिखित स्पष्टीकरण सोधेको चर्चा चलेको छ, जसको आधिकारिक पुष्टि भने भएको छैन । यही चर्चालाई संकेत गर्दै पूर्वश्रममन्त्री साहले एक शब्दको स्टटास लेखेका छन्- स्पष्टीकरण… । अहिले गृहमन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीले आफूलाई चाहिँ किन त्यो मौका दिएनन् भन्ने उनको आशय झल्किन्छ ।
