सर्लाही, ०९ बैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु लज्जाकाे विषय भएकाे बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा अर्थमन्त्री वाग्लेले यस्ताे बताएका हुन् ।
उनले विदेशी लगानी स्वीकृत भएकाे यति लामो समयमा पनि काम नै नभएकाे भन्दै यसमा निर्मम समीक्षा गर्नुपर्ने बताए । परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुकाे कारण खाेजेर समाधानतर्फ लाग्नु पर्ने उनकाे भनाइ छ । उनले आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे कानुन भए कानुन फेर्नै पर्ने अवस्था आएकाे बताए ।
‘समस्या के हो त्यो तुरुन्तै चाहियो । अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिन्छ । लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भयो । कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्यो । केही फेन्सी आयोजना छन् त्योबारे सोच्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजना को हालत अत्यन्तै दयनीय देखिएकाे बताए । ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन तत्काल सम्बोधन गरियोस्,’ उनले भने, ‘कुन निकाय ? कुन व्यक्ति ? के के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ ।’
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराए । उनले यसअघिको १२ औँ बैठकले गरेको निर्णय कार्यन्वयन जस्ता विषयमा प्रष्ट पारे ।
