सर्लाही, ११ बैशाख । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ ।

अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।

नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला हुलाक कार्यालयबिच समझदारी भएपछि उक्त सेवा सुरु गरिएको हो ।

सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबिच समन्वयलाई थप मजबुत बनाइने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक कार्यालय महोत्तरीका हुलाक अधिकृत रामचन्द्र साहले समझदारीपत्रमा हस्ताक्षर गरी राहदानी वितरण सेवा सुरु गरिएको हो ।

सम्झौताअनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पुर्‍याइनेछ ।

हुलाक कार्यालयले राहदानी सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिनेछ।

यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण भेगका नागरिकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ।

कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना, सम्पर्क विवरण स्पष्ट र सही उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

साथै, सेवा प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबिच समन्वयलाई थप मजबुत बनाइने  उद्देश्य सहित जिल्ला प्रशासन कार्यालय महोत्तरी को तर्फबाट प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक महोत्तरीको तर्फबाट हुलाक अधिकृत रामचन्द्र साहले  समझारीपत्रमा हस्ताक्षर गरेर राहदानी सम्बन्धी काम अघि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *