सर्लाही, १३ बैशाख । यो वर्ष सरकारले रासायनिक मल आयात प्रक्रिया छिटो गरेकाले समग्र आर्थिक वृद्धि, मूल्य नियन्त्रण तथा कृषि उत्पादनमा सहयोग पुगेको देखिएको छ ।
फागुन मध्यपछि भएको इरान युद्ध र मध्यपूर्वको तनावको कारण अहिले विश्वभर रासायनिक मलको अत्यधिक मूल्य वृद्धिको साथै धेरै देशहरूमा अधिक अभाव देखिएको छ ।
नेपालमा भने अहिले मलको संकट नभएको र अन्यको तुलनामा कम मूल्यवृद्धि रहेको सरकारी कम्पनीहरूले बताएका छन् ।
एसियाली विकास बैंकको एसिया आउटलुक र विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्ने क्रममा पनि उनीहरूले यो वर्ष छिटो मल आयात भएकाले सहयोग पुगेको बताएका थिए ।
यद्यपि खाडी तनाव र इन्धको मूल्य वृद्धिको प्रभाव नेपाली अर्थतन्त्रमा देखिएकाले आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपण गरेका छन् ।
एसियाली विकास बैंकले २.७ र विश्व बैंकले २.३ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा डिएपी मलको परिमाणात्मक आयात दोब्बर बढी, १२० प्रतिशतले बढेको छ ।
चैतसम्म ९ करोड ३१ लाख किलो डिएपी आयात भएकामा अहिले २० करोड ५८ लाख किलो आयात भएको छ ।
गत वर्ष ९ करोड ३१ लाख किलो आयात गर्न ९ अर्ब ९ करोड रूपैयाँ लागेको थियो। यो पटक २० करोड ५८ लाख किलो आयात गर्न २४ अर्ब ८ करोड रूपैयाँ खर्च भएको छ ।
योमध्ये १८ करोड किलो अत्यधिक रूपमा मूल्य बढ्नु र मल अभाव देखिनु अगावै लिइएको हो। बाँकी २ करोड किलो पनि त्यसअघि नै प्रक्रिया थालिएको हो ।
त्यस्तै, ठूलो संकट र मूल्य वृद्धि हुनु अगावै नेपालले युरिया मल आयात पनि गत वर्षको तुलनामा ८१ प्रतिशत बढी गरेको छ ।
गत वर्ष १६ करोड ६० लाख किलो युरिया आयात भएको थियो। यो वर्ष ३० करोड १२ लाख किलो आयात भएको छ ।
फागुनसम्म विश्व बजारमा रासायनिक मलको मूल्य बढ्ने क्रम देखिए पनि अवस्था नियन्त्रणमै थियो। त्यस समयमा युरिया करिब ५०० देखि ६०० अमेरिकी डलर प्रति टनको हाराहारीमा कारोबार भइरहेको थियो । डिएपी करिब ६०० देखि ७०० डलर आसपासमा थियो ।
बजारमा माग–आपूर्तिको सन्तुलन पूर्ण रूपमा बिग्रिएको थिए न। मूल्य वृद्धि क्रमिक तथा पूर्वानुमानयोग्य मानिन्थ्यो ।
फागुन अन्त्यतिर मध्यपूर्वमा तनाव बढ्दै गएपछि स्थिति अचानक फेरियो ।
विशेषगरी हर्मुज जलडमरू आसपासको अवरोधले विश्व मल आपूर्तिमा ठूलो असर पारेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उल्लेख गरेका छन् ।
अहिले युरियाको मूल्य बढेर ७०० डलर नाघेको छ । सञ्चार संस्था रोयटर्सले ९ सयदेखि हजार डलरसम्म पुगेको उल्लेख गरेको छ ।
यसको अर्थ फागुनको तुलनामा युरियाको मूल्य करिब ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म बढेको देखिन्छ ।
त्यस्तै, डिएपीको मूल्य पनि ७२० देखि ८६० डलर प्रति टनसम्म पुगेको छ। जसले छोटो अवधिमै करिब १० देखि २५ प्रतिशत वृद्धि भएको संकेत गर्छ ।
विभिन्न देशहरूमा मलको अभाव भएको छ। नेपालमा भने अहिले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेडका कायम मुकायम प्रबन्धक पुण्यप्रसाद उपाध्यायले बताए ।
चालु आर्थिक वर्षका लागि आवश्यक मल आयात भइसकेको उनले जानकारी दिए ।
‘हामीले हरेक महिना टेन्डर खुलाइरहेका हुन्छौं। तर यो वर्षको लागि आवश्यक मल आयात गरिसकेका छौं । अहिले मलको समस्या पनि छैन,’ उनले भने, ‘अहिले अत्यधिक मूल्य बढेको छ । तर धेरै मल मूल्य बढ्नु अगावै आयात गरियो ।’
आगामी वर्ष भने यसको प्रभाव देखिने उनी बताउँछन् ।
एसियाली विकास बैंकले प्रकाशन गरेको एसियन आउटलुकमा पनि आगामी वर्ष मलको उच्च मूल्य र आपूर्तिमा अवरोध नेपालको कृषिका लागि एउटा प्रमुख जोखिम हुन सक्ने उल्लेख छ ।
विशेषगरी मध्यपूर्वको द्वन्द्वका कारण मल र इन्धनको मूल्य बढ्न सक्ने अनुमान छ ।
