सर्लाही, १४ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय तुलबहादुर थिङका ३२ वर्षीय छोरा प्रेमबहादुर थिङ (दावा) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ५ बजे आफ्नै मकैबारीमा पुगेका थिङले बालीमा क्षति पुर्‍याइरहेको बँदेल देखेपछि त्यसलाई पछ्याएका थिए ।

सोही क्रममा पिडखोल्सी क्षेत्रमा बँदेलले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते थिङलाई तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव आइतबार राति करिब साढे ११ बजे पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *