सर्लाही, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन् ।
मन्त्री स्तरीय निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयको समायोजन तथा आवश्यक समन्वय प्रभावकारी बनाउन सम्बन्धित निकायलाई विभिन्न निर्देशन तथा अनुरोध गरेको हो ।
केन्द्रले बस्ती हटाउने वा स्थानान्तरण गर्ने प्रक्रियाबाट प्रभावित विद्यार्थीलाई नजिक तथा पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ ।
विशेष गरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग उपलब्ध गराउन तथा विद्यालय नै प्रभावित भएका स्थानमा वैकल्पिक शैक्षिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
यसैगरी, प्रभावित बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित गुनासा, समस्या वा सुझाव भए सम्बन्धित स्थानीय तहमार्फत केन्द्रमा जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ ।

