सर्लाही, १५ बैशाख । विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् ।

सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्च पास गरेका हुन् ।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदम स्वीकार्य नहुने उनीहरुले जनाएका छन् ।

उनीहरुले विद्यालय शिक्षा विधयेक खोइ, विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाउ, स्ववियु खारेज गर्न पाइदैन, विश्वविद्यालयको स्वायतता सुनिश्चितता गर लगाएतका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए ।

त्यस्तै विद्यार्थीहरुले बढ्दो महङ्गी नियन्त्रण गर्नुपर्ने, शैक्षिक संस्थाहरुलाई व्यारेकीकरण गर्ने अभ्यास बन्द गर्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीहरुलाई यातायातमा दिइदै आएको ४५ प्रतिशत भाडा छुट कायम गर्न समेत माग गरेका छन् ।

अखिल-क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेज लगाएतका माग राख्दै आफुहरु निरन्तर आन्दोलनमा रहेको भन्दै सरकारले माग नसुने कडा आन्दोलनको घोषणा गरेर अघि बढ्ने चेतावनी दिनुभयो ।

उहाले विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध आगामी दिनमा स्ववियुको माध्यमबाट सवै क्याम्पसमा विरोधका कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।

ढकालले मुलुकको हरेक परिवर्तनमा अग्रणी भूमिका रहेका विद्यार्थी संगठनलाई खारेज गर्ने निर्णयले सरकारलाई नै समस्यामा पार्न सक्ने समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *