सर्लाही, १७ बैशाख । बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् ।
प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन उक्त कार्यक्रममा सहभागी हुने तय भइसके पनि बुधबार अचानक उनी सहभागी हुन नसक्नेबारे जानकारी प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
कोषका सदस्य श्याम रोक्काका अनुसार व्यस्तताका कारण प्रधानमन्त्री बालेन बुद्ध जयन्ती समारोहमा सहभागी हुन नसक्ने भनेर जानकारी आएको हो ।
प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री लुम्बिनी जाने कार्यक्रम नभएको पुष्टि गरिन् ।
प्रधानमन्त्री सहभागी नहुने भएपछि कोषले सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथि बनाउने भएको छ । सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार सभामुख अर्याल आजै लुम्बिनी पुग्ने कार्यक्रम छ ।
सभामुख अर्याल भोलि आयोजना हुने बुद्ध जयन्ती समारोहमा सहभागी हुने उनले जानकारी दिए ।
प्रधानमन्त्री बालेनको व्यस्ततालाई देखाएर कार्यक्रममा सहभागी हुन नसक्ने भनिए पनि निकट स्रोतले कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग मञ्च ‘सेयर’ गर्न नचाहेर कार्यक्रममा नजाने निर्णयमा पुगेको दाबी गरेको छ ।
लामा विगतदेखि नै विवादमा तानिएका पात्र हुन् ।
स्रोतका अनुसार उक्त कार्यक्रममा सहभागी हुन यसअघि राष्ट्रपति रामचन्द्र पौडेल इच्छुक थिए । यद्यपि प्रधानमन्त्री बालेन शाहलाई नै कोषले निम्त्याउन चाहेका कारण राष्ट्रपति प्राथमिकतामा परेनन् ।
प्रधानमन्त्री बालेन सहभागी नहुने जानकारी आएपछि कोषले राष्ट्रपतिलाई निम्त्याउन चाहेको थियो ।
यद्यपि राष्ट्रपतिले समेत व्यस्तताका कारण देखाएर सहभागी हुन नसक्ने जनाएपछि सभामुखलाई प्रमुख अतिथि बनाइएको स्रोतको दाबी छ ।
