सर्लाही, १८ बैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटलेखन समितिलाई पूर्णता दिएको छ। सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेलको सरुवापछि रिक्त रहेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यमा थपिएको मन्त्रालयले जनाएको छ ।
संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्छ। सोही तयारीस्वरूप अर्थ मन्त्रालयले चैत २० गते बजेटलेखन समिति गठन गरेको थियो । तर, बजेट तयारीकै संवेदनशील समयमा वैशाख १० गते मन्त्रिपरिषद्ले समितिका सदस्य भट्टराई र पोखरेललाई सरुवा गरेको थियो ।
सरुवापछि भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ ।
हाल समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री छन् । सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा र सहसचिव अमृत लम्साल छन् ।
बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा लेखन टिमले पूर्णता पाएपछि अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने कामलाई तीव्रता दिएको छ ।
