सर्लाही, २२ बैशाख । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार ढल्ने भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको पद धरापसँगै सत्ता समीकरण पनि फेरबदलको संकेत देखिएको छ ।
स्रोतका अनुसार सरकारलाई समर्थन गर्दै आएका जसपा, लोसपा र एमाले समर्थन फिर्ता लिने तयारी गरेका छन् । समर्थन फिर्ताको पत्र तयार भइसकेको र केहीबेरमै प्रदेश प्रमुखको कार्यालयमा बुझाउने तयारी रहेको स्रोतले नेपाल प्रेसलाई बतायो ।
सत्ता साझेदार जनमत पार्टीले यसअघि समर्थन फिर्ता लिइसकेको छ ।
यादव नेतृत्वको सरकारमा कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका गरी २६, जनमतका १२, नेकपाका १५ र एमालेका २४ सांसदको समर्थन रहेको थियो । यद्यपि एमाले बाहेक अन्य सबै दल सरकारमै सहभागी थिए ।
हाल प्रदेश सभामा १०१ सदस्य कायम छन् । बहुमतका लागि ५१ जना चाहिन्छ । अन्य सबै दलले सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरिरहँदा यादव अल्पमतमा पर्ने भएका छन् ।
