सर्लाही, २२ बैशाख । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन् । उता सरकारको नेतृत्व २०८२ पुस १३ गतेमात्रै प्रवेश गरेर वरिष्ठ नेता बनेका वालेन्द्र शाहले गरिरहेका छन् ।
रास्वपाले नेताहरूलाई दोहोरो भूमिका सकेसम्म नदिने नीति लिएको छ । तर केही नेताहरूले पार्टी र सरकारमा दोहोरो जिम्मेवारी पाएका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटी संसदीय दलमा प्रमुख सचेतक छन् । पार्टी सचिवालयका कतिपय नेता मन्त्रीको पदमा छन् । यो दोहोरो जिम्मेवारीले काम र नतिजामा प्रभाव पार्ने चिन्ता नेताहरूमा छ ।
यस्तो अवस्थामा अहिले रास्वपाले उनीहरूलाई पार्टी सचिवालय भन्दा मन्त्री र संसदीय भूमिकामा सशक्त हुन निर्देशन दिइरहेको छ ।
‘हामीले पार्टीको काममा कम केन्द्रित गरेका छौँ । अहिले सरकारको जिम्मेवारीमा समय दिएका छौँ । पार्टी बैठकमा भ्याए उपस्थित हुने कुरा छँदैछ,’ ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ भन्छन्, ‘हामीले अहिले सम्पूर्ण मन्त्रालयको काम र मन्त्रालयलाई चुस्त दुरूस्त चलाउनेतिर ध्यान दिएका छौँ ।’
प्रधानमन्त्री वालेन्द्र शाहले आफूअनुकूल सुकुम्वासी हटाउने निर्णय गरेको टिप्पणी भइरहे पनि सभापति लामिछानेले आइतबारको सचिवालय बैठकमा यसको बचाउ गरिसकेका । सोमबार प्रधानमन्त्री आफैँले सामाजिक सञ्जालमा लेखेर कुनै हालतमा सुकुम्वासीलाई बिचल्लीमा नपार्ने बताए ।
यस्तोमा दोहोरो जिम्मेवारीका नेतालाई सरकारको काममा बढी ध्यान दिन निर्देशन दिइएको छ । उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । पार्टीका अर्का उपसभापति डोलप्रसाद (डीपी) अर्याल सभामुख भइसकेपछि उनको पद खाली छ ।
यता पार्टी सचिवालय सदस्य सोबिता गौतम कानुनमन्त्री छिन् । अन्य दुईजना सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र शिशिर खनाल पनि ऊर्जा र परराष्ट्र मन्त्रालयमा छन् ।
यसैगरी, पार्टी सह-प्रवक्ता प्रतिभा रावलले पनि सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेकी छन् । उनीहरू सबैलाई पार्टीको भन्दा मन्त्रालयको भूमिकामा बढी ध्यान दिन सभापति लामिछाने र वरिष्ठ नेता एवम् शाहले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाह अहिले पनि सचिवालयसहित पार्टीाका प्राय: बैठकमा उपस्थित हुँदैनन् । उनी सभापति लामिछानेको सल्लाहमै बैठकमा नआउने गरेको नेताहरू बताउँछन् । शाहले पार्टीको गतिविधिमा चासो दिएका छैनन् । दोहोरो पदका अन्य नेता पनि पार्टी सचिवालय बैठकमा उपस्थित भएर हिँड्ने गरेका छन्।
‘पार्टीभन्दा सरकारको जिम्मेवारीमा काम गर्न लागेका छौँ । पार्टी महाधिवेशन र स्थानीय तहको निर्वाचन लगायत काम गर्न अरू साथीहरू लाग्नुभएको छ’, परराष्ट्रमन्त्री शिशिर खनालले केही समयअगाडि भनेका थिए, ‘सरकार वरिष्ठ नेता र पार्टी सभापतिज्यूले हाँकिरहनु भएको । उहाँहरू दुवैजना समन्वयमै काम गरिरहनुभएको छ ।’
