सर्लाही, २३ बैशाख । संघीय संसद्का सांसदहरूले अनिवार्य विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १६ वटा संसदीय समिति सभापतिहरूको बैठकले इ–हाजिरी अनिवार्य गर्ने निर्णय गरेको हो ।
विगतमा हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमध्ये एकमा हाजिर गर्नुपर्ने व्यवस्था थियो । अब संसद्लाई पूर्ण डिजिटाइज्ड गर्ने उद्देश्यका साथ सभामुख अर्यालले अनिवार्य विद्युतीय हाजिरी लागू गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
विगतमा हाजिरी पुस्तिकामा पुरानो दिनको हाजिरी गर्ने बेथिति थियो । सांसदहरू बैठकमा नआउने, आएपछि हाजिर गरेर हिँड्ने प्रवृत्ति थियो ।
सभामुख अर्यालका प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार दुवै सदनका समिति सभापतिहरूसँगको बैठकमा सभामुख अर्यालले इ–हाजिरी अनिवार्य गर्ने र आधा घण्टाभित्र विवरण सार्वजनिक गर्ने प्रस्ताव गरेका थिए ।
जसलाई बैठकले पारित गरेपछि सभामुख अर्यालले आगामी अधिवेशनदेखि नै लागू हुने गरी व्यवस्थापन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
