एआईबाट तयार गरिएको सांकेतिक तस्वीर ।

सर्लाही, २४ बैशाख । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका-९ स्थित संग्रामपुर–बाँके सडकखण्डअन्तर्गत खिला नजिक आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिहान करिब साढे ८ बजे संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना ४८ प ४७० नम्बरको अपाचे मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी पप्पु भनिने श्याम ठाकुर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते ठाकुरलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल मलंगवा ल्याएकोमा चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बस मालिक सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुर निवासी मनिष कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस चालक सर्लाहीको कबिलासी नगरपालिका सलेमपुर निवासी बद्री मण्डल रहेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *