सर्लाही, २५ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान, २०८३” अन्तर्गत दोस्रो चरणको अभियान सर्लाहीमा सुरु गरिएको छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रम मलंगवा नगरपालिका–९ स्थित प्रहरी चौकी गोरखकालीमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राई, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मलंगवा नगरपालिकाका वडाध्यक्ष, विभिन्न संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक सरोज राईले अभियानको उद्देश्य र प्रभावकारिताबारे प्रकाश पार्दै सीमावर्ती नाकाहरूमा लागुऔषध परीक्षण केन्द्र स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘ड्रग टेस्ट किट’ प्रयोग गरी व्यक्तिले लागुऔषध सेवन गरे-नगरेको परीक्षण गरिनेछ । साथै सीमावर्ती क्षेत्रमा नियमित आवतजावत गर्ने युवा-युवतीहरूको तथ्यांक सङ्कलन गरी निगरानीसमेत बढाइने योजना रहेको बताइएको छ ।

उहाँले अभियानलाई जिल्लाभर निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोहका अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय, सर्लाहीअन्तर्गतका सशस्त्र प्रहरी कर्मचारीहरूले लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *