सर्लाही, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
यो नतिजा गत वर्षभन्दा ४।१७ प्रतिशतले बढेको हो । २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ ।
४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४।०० जीपीए ल्याउनेको छ । जीपीए ३.२० देखि ३।६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।
जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।
सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो ।
२९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो ।’
विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो ।
त्यसैले यसवर्ष परीक्षा केन्द्रमा नै परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण हुने आशंकासहित प्रश्नहरू पनि उठेको थियो । तर शिक्षकहरूले आफ्नो मर्यादामा रहेर नै उत्तरपुस्तिका परीक्षण गरेको नियन्त्रक अधिकारीले बताए । ‘परीक्षण राम्रो हुँदैन भन्ने आशंका थियो । तर नतिजाको आकडाले चिरेको छ ।
शिक्षक साथीहरूले इथिक्समा रहेर परीक्षण गर्नुभएको छ,’ उनले भने । नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको प्रयत्नले भएको बोर्डको निष्कर्ष छ ।
प्राध्यापक डा. विद्यानाथ कोइराला नतिजा सुधार हुनुमा तीन कारण देख्छन् । ‘धेरै स्कुललले तीन महिना स्कुलमै राखेर पढाएको छ । खाने बस्ने व्यवस्था स्कुलमै थियो ।
दोस्रो परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरियो । तेस्रो विद्यार्थीलाई पहिला नै प्रश्नपत्रको मोडेल दिने चलन छ । यी तीन कारणले नतिजामा सुधार आएको देखिन्छ,’ प्रा.डा. कोइरालाले भने ।
परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत_ भएका छन् । मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए । नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् ।
त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भए । यी विद्यार्थीका लागि के गर्ने भनेर सरकारले सोच्नुपर्ने बताउँछन्, प्राध्यापक कोइराला । ‘
अनुत्तीर्ण भएका विद्यार्थीलाई के गर्ने रु उनीहरूलाई गरीखाने कसरी बनाउने त्यसमा सोच्नुपर्छ,’ उनले भने । बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ ।
असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ । नतिजामा चित्त नबुझेमा पुनर्योेगको लागि पनि बोर्डले समय दिएको छ ।
१ जेठदेखि ७ गतेसम्मको लागि पुनर्योेगको सयम दिइएको छ । कसैको त्रुटि भएमा सच्याउने बोर्डले जनाएको छ ।
सोमबार सार्वजनिक नतिजामा सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएको छैन । ‘हिजाे नभ्याएर सार्वजनिक नगरिएको हो । आज गर्छौैं,’ नियन्त्रक अधिकारीले भने । ४ जीपीए ल्याउनेको संख्या पनि बोर्डले सार्वजनिक गरेको छैन ।
