सर्लाही, ३१ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि जवाफ दिन संसद जाने टुंगो अहिलेसम्म लागेको छैन ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री जवाफ दिन संसद जाने निश्चित नभएको बताइन् ।
‘प्रधानमन्त्री जवाफ दिने जाने कार्यक्रम अहिलेसम्म छैन,’ दाहालले भनिन् ।
बुधवार प्रतिनिधसभामा छलफलका लागि नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तोकेका थिए ।
संसद बैठक सुरू भएपछि पहिला सबै दलले प्रधानमन्त्री बालेन नै पेस गर्न आउनुपर्ने भन्दै विरोध गरेका थिए ।
तर संसद नियमावलीले नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री वा उनले तोकेको कोही मन्त्री आउनुपर्ने प्रावधान रहेको भन्दै अर्थमन्त्रीलाई संसदमा पेस गर्न दिइएको थियो ।
श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री नै पेस गर्न आउनुपर्ने भन्दै संसद बहिष्कार गर्यो ।
विपक्षी दलहरूले टेबल गर्न दिए पनि छलफल सुनेर जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने शर्त राखेर संसद अवरोध गरेका थिए । त्यसपछि संसद बैठक आज बस्ने गरि स्थगित भयो ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्री नआएका कारण बजेट समेत प्रभावित हुने देखिएको छ ।
संविधान अनुसार सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्छ । बजेट भाषणको १५ दिन अघि संसदमा सरकारले प्रिबजेट पेश गरेर छलफल सुरू गर्ने व्यवस्था छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम पास भएपछि प्रिबजेट पेश गरेर छलफल गर्ने नियम छ ।
त्यसका लागि आजभोलिमा नीति तथा कार्यक्रम पास भएर प्रि–बजेट आउनुपर्छ ।
तर प्रधानमन्त्री छलफल र जवाफ दिन नआएका कारण विपक्षी दलहरूले संसद बैठक अवरोध गरेपछि नीति तथा कार्यक्रमको छलफल नै अवरूद्ध भएको छ ।
