सर्लाही, ३१ बैशाख । शैक्षिक संस्थामा आइतबार बिदाको निर्णय कार्यान्वयनप्रति संघीय सरकार र स्थानीय सरकार फेरि आमनेसामने भएका छन् ।

संघीय सरकार आइतबारको बिदालाई स्थायी रूपमै कार्यान्वयन गर्ने गरी अघि बढेको छ । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदामा कटौति गरेको छ । तर, स्थानीय सरकार यसको विरुद्धमा उभिएका छन् ।

स्थानीय तहको एकल क्षेत्राधिकारभित्र पसेर केन्द्र सरकारले गरेको निर्णय अव्यावहारिक र नेपालको भूगोलसुहाउँदो नभएको स्थानीय सरकारको भनाइ छ । 

स्थानीय तहहरूले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै धमाधम कक्षा सञ्चालन गरिरहेका छन् । 

त्यसकै उदाहरण हो उपत्यकाभित्रकै भक्तपुर नगरपालिका । भक्तपुर नरभित्रका सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालन भइरहेका छन् । संवैधानिक तथा कानुनी प्रावधानअनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भन्दै नगरपालिकाले पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

भक्तपुरमा मात्रै होइन, जुम्लाका कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् । ललितपुरकै बागमती गाउँपालिकाले पनि आइतबार बिदा दिएकाे छैन ।

डोटीको शिखर नगरपालिकाले पनि विद्यालयमा आइतबार बिदा दिएको छैन । पठनपाठन नसकिने भन्दै विद्यालयमा आइतबार बिदा नगरिएको नगरपालिकाको भनाइ छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि विद्यालयमा आइतबार बिदा दिएको छैन । 

केन्द्र सरकारको निर्देशनविपरीत आइतबारको बिदामा पनि विद्यालय सञ्चालन गर्ने पालिकामध्ये यी त केही उदाहरण मात्रै हुन् । देशभरका कैयौँ स्थानीय तहहरूले विद्यालयमा आइतबारको बिदा कार्यान्वयन गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *