सर्लाही, ०१, जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको पर्खाल खस्दा तीन जना कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज (शुक्रबार) साँझ करिब साढे ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए ।
घटनापछि तत्काल उद्धार गरी घाइते तथा मृतकलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा मलंगवा नगरपालिका–७ निवासी तुलसी महतो रहेका छन् ।
उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
यस्तै, सोही स्थानका ५२ वर्षीय सत्यनारायण महतो पनि घाइते भएका छन् । उनको मजुर्वास्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुरको मृत्यु भएको छ । उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
त्यसैगरी, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउतलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।
घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

