सर्लाही, ०२ जेठ । ओपनर कुशल भुर्तेलकाे शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारकाे खेलमा अमेरिकालाई पराजित गरेको छ । 

र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा घरेलु टाेली नेपालले बलियाे अमेरिकालाई ९ विकेटले हराएकाे हाे । 

यसअघि र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । 

एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले ।

अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए ।

साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक–एक विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृंखलामा याेसँगै तीन खेल सकिएका छन् । यसअघिका दुवै खेलमा स्कटल्यान्ड विजयी भएको छ ।

पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *