सर्लाही, ०२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया अन्तिम समयमा स्थगित गरे ।
सत्ता गठबन्धनभित्र बढ्दो असन्तुष्टि, आन्तरिक खटपट तथा सम्भावित ‘फ्लोर क्रस’को जोखिम देखिएपछि उनले विश्वासको मत नलिने निर्णय गरेका हुन् ।
प्रदेशसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि मुख्यमन्त्री यादवले विश्वासको मत पेस नगर्ने निर्णय लिएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिए । अब ८ जेठमा विश्वासको मत लिने तयारी गरिएको उनले बताए ।
राजनीतिक वृत्तमा मुख्यमन्त्री यादवको यो कदमलाई सत्ता समीकरण जोगाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ । २१ वैशाखमा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।
गत मंसिरमा सात दलका ७१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका यादव नेतृत्वको सरकारबाट जनमत दलले समर्थन फिर्ता लिए पनि बहुमतमै रहेको छ ।
जनमतले समर्थन फिर्ता लिएपछि बसेको सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, तत्कालीन लोसपा र नेकपाले वर्तमान सरकारलाई विश्वासको मत दिने भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।
त्यसकै आधारमा मुख्यमन्त्री यादवले १ जेठमा विश्वासको मत लिने घोषणा गरेका थिए । तर विश्वासको मत अघि बढ्नुअघि नै जसपाभित्र गुटगत असन्तुष्टि देखिएपछि मुख्यमन्त्री यादव पछि हटेका हुन् ।
निर्वाचन आयोगले जसपा र तत्कालीन लोसपाबीच एकीकरण भएको प्रमाण दिएपछि प्रदेशसभामा जसपा सबैभन्दा ठूलो दल बनेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारलाई निरन्तरता दिने पक्षमा देखिए पनि तत्कालीन लोसपा र जसपा समूहका केही सांसद भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा छन् ।
स्रोतका अनुसार तत्कालीन लोसपा समूहका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र जसपा समूहका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव सरकार परिवर्तनको पक्षमा देखिएका छन् ।
कांग्रेस नेतृत्वको सरकार हटाउन दुवै नेता सहमत भए पनि नेतृत्वको विषयमा उनीहरूको आ–आफ्नै दाउ छन् । सोनल आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा छन् भने सरोजकुमार यादव पनि नेतृत्व दाबी गर्दै सक्रिय रहेको स्रोतको भनाइ छ ।
जसपाकी एक सांसदका अनुसार उनीहरू कांग्रेस नेतृत्वको सरकार हटाएर नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने रणनीतिमा छन् ।
‘दुवै जना आफ्नै नेतृत्वमा सरकार बनाउन चाहनुहुन्छ । तर पार्टी अध्यक्षबाट अहिलेसम्म स्पष्ट निर्देशन नआएकाले अन्योलको अवस्था छ,’ ती सांसदले भनिन् ।
जसपाका अर्का एक सांसदका अनुसार संसदीय दलका नेता सरोज कुमार यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि सरकार परिवर्तनका लागि मार्गप्रशस्त गर्न दबाब दिइरहेका छन् । तर अध्यक्ष यादव भने भर्खरै पार्टी एकीकरण भएको अवस्थामा तत्काल सरकार परिवर्तन गर्दा पार्टीभित्र असन्तुष्टि बढ्नसक्ने भन्दै वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
मुख्यमन्त्री यादव र नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादवले बिहीबार मात्रै अध्यक्ष उपेन्द्र यादवसँग विश्वासको मतबारे छलफल गरेका थिए ।
कांग्रेसका एक सांसदका अनुसार अध्यक्ष यादवले सरकारलाई समर्थन रहने आश्वासन दिएका थिए । तर जसपाभित्रैबाट सरकार परिवर्तनका लागि दबाब बढेपछि मुख्यमन्त्री यादव त्रसित बनेर विश्वासको मत स्थगित गर्न पुगेका हुन् ।
यता, जसपाका प्रवक्ता तथा प्रदेश सरकारका मन्त्री मनिष सुमनले भने आफ्नै पार्टीको आग्रहमा मुख्यमन्त्री यादवले विश्वासको मत स्थगित गरेको दाबी गरेका छन् ।
उनका अनुसार जसपा लोसपा एकीकरणपछि प्रदेशस्तरमा अझै समायोजन प्रक्रिया पूरा भएको छैन । संसदीय दलका नेता, प्रमुख सचेतक लगायतका पदमा टुंगो नलागेकाले समायोजन प्रक्रिया सकिएपछि मात्रै विश्वासको मत लिन आग्रह गरिएको हो ।
कांग्रेसभित्रै दबाब
मुख्यमन्त्री यादवलाई हटाउन कांग्रेसभित्रैबाट दबाब बढिरहेको थियो । सरकारको काम सुस्त भएको, विकास निर्माणका योजनामा अनियमितता बढेको तथा विभिन्न बेथिति देखिएको भन्दै कांग्रेसका एक समूहले नेतृत्व परिवर्तनको माग गरिरहेका थिए ।
