सर्लाही, ०३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन् ।
क्याप्सनमा उनले लेखेका छन्, ‘यो आँधी आउनुभन्दा अघिको शान्ति थियो ।’
एनिमेटेड तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् । अनि आसपासको वातावरण आँधीबेहरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झन्डा फहराइरहेका छन् ।
ट्रम्पको यो पोस्ट न्युयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, ‘अमेरिकाले अर्को हप्ता इरानविरुद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ। यसका लागि पेन्टागन (अमेरिकाको रक्षा मन्त्रालय) ले धेरै विकल्प तयार पारेको छ र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा छ ।’
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले आवश्यक परेमा सैन्य कारबाही बढाउने योजना तयार रहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानका सैन्य र पूर्वाधार लक्ष्यविरुद्ध ठुला हवाई हमला गर्ने योजना छ ।
उता इरानले भने फेरि आक्रमण गरियो भने अझ ठुलो बलका साथ जवाफ दिइने चेतावनी दिएको छ ।
हाल भने केही हप्तादेखि युद्धविराम छ ।
