सर्लाही, ४ जेठ । मोरङ– ३ का सांसद गणेश कार्कीले कानुनले नै व्यवहारमा अन्याय गरेको बताएका छन् । सोमबारको संसद बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रको सुकुम्बासी समस्याका बारेमा अवगत गराएका हुन् ।
उनले भनेका छन्, ‘४० वर्षभन्दा अगाडि सट्टाभर्ना दिँदा केही ठाउँमा अरु बसिरहेको ठाउँ पनि दिइयो, केहीले सूचीमा नाम राखे तर पुरानोमै बसेर नयाँ ठाउँ आउँदै आएनन्, र गरिबगुरुवाहरू बसे, कतै अरुले नै मिलाएर वर्षौंपछि धनीपुर्जा लिइदियो,’ कार्कीले प्रस्टाउँदै भने, ‘एउटाले जोतभोग गरेको जग्गाको धनीपुर्जा अर्कैको नाममा पुग्यो ।
पुस्तौँदेखि धनीपुर्जा र जग्गा दुवै अलगअलग बिक्री भइरहँदा वास्तविक मालिक र पीडित छुट्याउनै नसकिने अवस्था छ ।’
उनले अदालतको आदेश र पालिकाको दृष्टिकोणसमेत नमिलेको बताएका छन् । उनले थप भने, ‘कानुनले व्यवहारमा अन्याय गरेको छ ।’
मोरङ– ३ को भूमि समस्यामा राजनीतिक रोटी सेक्नेहरूले झन् कचकल्टाएको उनको आरोप छ । कार्कीले यही कारणले समाजमा झगडाको बिउ बनेको उल्लेख गरे ।
‘नेपालभरको ढाँचाले मोरङ– ३ को समस्या समाधान हुन सक्दैन’, उनले भने, ‘म सभामुखमार्फत यो सदनलाई अनुरोध गर्छु कि मोरङ– ३ को भूमिको समस्याका कुरा हुँदा यो सदनमा अञ्जान कोही नबनून् । त्यहाँका कुरा बुझ्न अल्छी वा बेवास्ता गरेका कारण त्यहाँका मान्छेले अब पनि दु:ख नपाउन् । छिनोफानो होस् । अनुरोध छ ।’

