सर्लाही, ०५ जेठ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ ।
त्यसका लागि मंगलबार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा शर्मामाथि सुनुवाई हुन लागेको हो ।
शर्माविरुद्ध समितिमा सातवटा उजुरी परेका छन् । समितिकी उपसचिव सावित्रा शर्माका अनुसार ती उजुरी पनि आजको बैठकमा खोल्ने तयारी छ ।
समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गरेको थियो। समितिले शर्माविरुद्ध सोमबार सम्म उजुरी दिन सकिने जनाएको थियो ।
शर्माविरुद्ध परेका उजुरी अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गर्ने तयारी समितिले गरेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
गएको वैशाख २४ गते सबेका संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
सर्वोच्चमा चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कानुन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, नेपाल बार एशोसियसनसहितले विरोध गरेका छन् ।
