सर्लाही, ०६ जेठ । सर्लाही प्रहरीले पत्रकारलाई धम्की दिएको आरोपमा स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झालाई पक्राउ गरेको छ ।
एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार अली लाई धम्की दिएको आरोपमा सर्लाही प्रहरीले स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार अलीमाथि गालीगलौज, अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा झाविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।
पत्रकार अलीले गत फागुन ५ गते मलंगवा–१० स्थित स्तुती सौम्य हेल्थ केयर क्लिनिकमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे लोकतन्त्र दैनिकमा समाचार प्रसारण गरेका थिए ।
समाचारअनुसार बालकको मृत्यु भएपछि क्लिनिक सञ्चालक झाले मृतकका अभिभावकसँग बाकी रकम बुझाउन दबाब दिएको तथा शवसहित परिवारलाई केही समय क्लिनिकमै रोकेर राखेको आरोप लागेको थियो ।
उक्त घटनाबारे समाचार प्रसारण भएपछि डा. झाले समाचार हटाउन दबाब दिँदै पत्रकार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोप छ ।
पत्रकार अलीले त्यसबारे नेपाल पत्रकार महासंघ लाई जानकारी गराएका थिए । घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धम्की र अभद्र व्यवहारप्रति आपत्ति जनाएका छन् ।
महासंघले समाचारप्रति असहमति भए कानुनी तथा संवैधानिक निकायमार्फत उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
