काठमाडौँ, ०७ जेठ । । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान निकै चर्चामा आएको छ ।
यद्यपि, जस्टिस सूर्यकान्तले शनिबार आफ्नो टिप्पणीबारे स्पष्टीकरण दिँदै सञ्चारमाध्यमको एक हिस्साले आफ्ना भनाइलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका थिए ।
उनको अभिव्यक्तिपछि सुरु भएको व्यंग्यात्मक सामाजिक सञ्जाल अभियान अहिले व्यापक रूपमा फैलिएको छ । ‘कक्रोच जनता पार्टी’ नाममा वेबसाइटसमेत बनाइएको छ भने इन्स्टाग्राममा यसको ४० लाखभन्दा बढी फलोअर भइसकेका छन् । साथै, दुई लाखभन्दा बढी मानिसले वेबसाइटमार्फत सदस्यताका लागि दर्ता गरेको बताइएको छ ।
के हो सीजेपी र कसरी भयो सुरुआत ?
कक्रोच जनता पार्टीको वेबसाइटमा यसको संस्थापक तथा संयोजकका रूपमा अभिजीत दीपकेको नाम उल्लेख गरिएको छ । बीबीसी न्युज मराठीसँग कुरा गर्दै उनले यो अभियान किन सुरु गरे भन्नेबारे बताएका छन् ।
यो अभियानको विचार कहाँबाट आयो भन्ने प्रश्नमा उनले भने, ‘म एक्स (पहिले ट्विटर)मा भारतका मुख्य न्यायाधीशको एउटा अभिव्यक्ति हेरिरहेको थिएँ, जहाँ उनले देशका युवालाई व्यवस्था आलोचना गर्ने र आफ्ना धारणा राख्ने विषयमा कक्रोच र परजीवीसँग तुलना गरेका थिए ।’
‘मलाई त्यो निकै हास्यास्पद लाग्यो, किनकि मुख्य न्यायाधीशलाई संविधानको संरक्षक मानिन्छ । त्यही संविधानले सबैलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने व्यक्तिले युवालाई कसरी ककरोच र परजीवीसँग तुलना गर्न सक्छ ?’
उनले भने, ‘त्यसले मलाई निकै आक्रोशित र निराश बनायो । मैले ट्विटरमा आफ्नो प्रतिक्रिया लेखेँ र सोधेँ—यदि सबै कक्रोच एकजुट भए भने के हुन्छ ?’
त्यसपछि जेन–जी र २५ वर्षमुनिका युवाबाट निकै रोचक प्रतिक्रिया आए । उनीहरूले हामी एकजुट हुनुपर्छ र एउटा प्लेटफर्म बनाउनुपर्छ भने ।’
‘त्यसपछि मलाई लाग्यो कि एउटा अनलाइन व्यंग्यात्मक पार्टी बनाउनुपर्छ, जसको नाम ‘कक्रोच जनता पार्टी’ राखियो । यदि तपाईंहरूले हामीलाई कक्रोच भन्नुहुन्छ भने ठीक छ, हामी त्यही नामको पार्टी बनाउँछौँ ।’
उनले थपे, ‘पार्टीमा सामेल हुनका लागि हामीले केही योग्यता पनि तय गर्यौँ । जस्तै—तपाईं अल्छी हुनुपर्छ, बेरोजगार हुनुपर्छ र लगातार अनलाइन बस्ने हुनुपर्छ, जस्तो मुख्य न्यायाधीशले भनेका थिए ।’
‘मुख्य न्यायाधीशले युवालाई अपमान गर्न प्रयोग गरेका सबै शब्दलाई हामीले सदस्य बन्ने मापदण्ड बनायौँ। केही घण्टामै यसको प्रभाव देखिन थाल्यो र मानिसहरूले प्रतिक्रिया दिन तथा दर्ता गर्न थाले ।’
‘त्यसपछि हामीलाई लाग्यो कि यो केवल मजाकमा सीमित रहनेवाला छैन । मानिसहरू निराश भइसकेका थिए । त्यसैले हामीले वेबसाइट बनायौँ, पार्टीको घोषणापत्र तयार गर्यौँ । अहिले इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर छन् र दुई लाखभन्दा बढी मानिस सदस्यका रूपमा दर्ता भइसकेका छन् । भारतीय राजनीतिमा लामो समयपछि यस्तो अभूतपूर्व प्रतिक्रिया देखिएको हो ।’
यति ठूलो सफलता किन ?
धेरै चर्चित व्यक्तिहरूले पनि यो अभियानलाई समर्थन गरेका छन् ।
अभिजीत भन्छन्, ‘पूर्व क्रिकेटर तथा सांसद कीर्ति आजादले आफू पार्टीमा सामेल हुन चाहेको बताएका छन् । महुआ मोइत्राले पनि समर्थन जनाएकी छन् । अन्य धेरैले पनि समर्थन गरिरहेका छन् र यो अहिले चर्चा कै विषय बनेको छ ।’
डिजिटल मार्केटिङ क्षेत्रका व्यक्तिहरूका अनुसार यो डिजिटल मिडियामा एउटा ठूलो ‘डिसरप्सन’ जस्तै बनेको छ ।
४० लाखभन्दा बढी फलोअर हुनुको कारणबारे अभिजीत भन्छन्, ‘म यो उपलब्धि आफूले मात्रै हासिल गरेको भन्न चाहन्नँ । मानिसहरू आफैँ एकजुट भएका हुन् । यदि कुनै डिजिटल एजेन्सी वा राजनीतिक दलले यस्तो अभियान चलाएको भए पनि यति छिटो सफलता पाउने थिएन । करोडौँ रुपैयाँ खर्च गरेर पनि यति ठूलो प्रतिक्रिया आउँदैन थियो ।’
‘युवाहरूभित्र वर्षौंदेखि रहेको निराशा र आक्रोश नै यसको मुख्य कारण हो । सरकारको असफलताका कारण युवा बेरोजगार छन् । उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्न एउटा मञ्च पाए ।’
को हुन् अभिजीत दीपके ?
अभिजीत भन्छन्, ‘म महाराष्ट्रको छत्रपति सम्भाजीनगरबाट हुँ । स्नातक अध्ययनका लागि पुणे गएको थिएँ । त्यसपछि केही वर्ष आम आदमी पार्टीसँग काम गर्ने अवसर पाएँ, जहाँ म उनीहरूको कम्युनिकेसन टिममा थिएँ ।’

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उनीहरूले गरेको कामले मलाई आकर्षित गरेको थियो। त्यो भारतीय राजनीतिमा नयाँ कुरा थियो । जस्तै अहिले कक्रोच जनता पार्टी नयाँ देखिन्छ, त्यस्तै मलाई लागेको थियो कि उनीहरू परिवर्तन ल्याउन चाहन्छन् ।’
‘पछि मलाई अझै अध्ययन गर्नुपर्ने महसुस भयो र म घरमै मास्टर्सको तयारी गर्न थालेँ । त्यसपछि मलाई बोस्टन विश्वविद्यालयबाट बोलावट आयो । म दुई वर्षदेखि त्यहीँ अध्ययन गरिरहेको थिएँ र अहिले मात्रै स्नातक पूरा गरेको हुँ ।’
घोषणापत्रले किन तान्यो ध्यान ?
अभिजीतका अनुसार घोषणापत्रले भारतको लोकतन्त्र र वर्तमान राजनीतिक अवस्थाको चित्रण गर्छ ।
उनले भने, ‘हामीले लगातार देखिरहेका छौँ कि निष्पक्ष हुनुपर्ने न्यायाधीशहरू अवकाशपछि सरकारबाट फाइदा लिइरहेका छन् । यो निकै खतरनाक अवस्था हो। न्यायपालिका स्वतन्त्र हुनुपर्छ। यदि न्यायपालिका पनि सरकारकै प्रभावमा जाने हो भने लोकतन्त्र कसले बचाउँछ ?’
उनले महिला प्रतिनिधित्वबारे पनि प्रश्न उठाए । ‘म बाल्यकालदेखि महिलालाई ३३ प्रतिशत आरक्षण दिने कुरा सुन्दै आएको छु, तर आजसम्म लागू भएको छैन। यदि आरक्षण दिनु नै हो भने ५० प्रतिशत दिनुपर्छ ।’
भारतको जेन–जी कस्तो छ ?
नेपाल र श्रीलंकामा जेन–जी आन्दोलन देखिएको सन्दर्भमा भारतका युवाको तुलना गर्दा अभिजीत भन्छन्, ‘भारतका जेन–जीको तुलना श्रीलंका, नेपाल वा बंगलादेशसँग गर्नु अपमान हुनेछ, किनकि भारतीय जेन–जी हिंसा फैलाइरहेका छैनन् ।’
उनले भने, ‘भारतीय जेन–जी व्यंग्यमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। ककरोचको पोशाक लगाएर यमुना सफा गरिरहेका छन्, फोहोर उठाइरहेका छन्। उनीहरू प्रणालीको खिल्ली उडाइरहेका छन्, हिंसा भड्काइरहेका छैनन् ।’
‘यदि उनीहरू सडकमा आउँछन् भने पनि लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले आउनेछन् । यो जेन–जी हाम्रो केन्द्रीय मन्त्रिमण्डलभन्दा बढी शिक्षित छ । प्रश्न यो हुनुपर्छ कि हामीमाथि अशिक्षित मानिसहरूले शासन किन गरिरहेका छन् ।’
कक्रोच जनता पार्टीको भविष्य के ?
अभिजीतका अनुसार यो केवल सुरुआत मात्रै हो । उनले भने, ‘युवा अहिलेको राजनीतिक व्यवस्थाबाट वाक्क भइसकेका छन् । आगामी वर्षहरूमा युवाले परिवर्तनको माग गर्नेछन्, किनकि पछिल्ला १०–१२ वर्षदेखि उनीहरूले ‘हिन्दू–मुस्लिम’ राजनीति बाहेक केही सुनेका छैनन् ।’
‘युवाहरू यस्तो व्यवस्था चाहन्छन् जहाँ प्रविधिमा प्रगति होस्, रोजगारी होस् र देश विश्वका उत्कृष्ट राष्ट्रहरूसँग तुलना गर्न सकियोस् । हामी कहिलेसम्म नेपाल, पाकिस्तान र बंगलादेशसँग मात्रै तुलना गरिरहने ?’
भारत फर्किने योजना छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘मैले गत साता मात्रै आफ्नो अध्ययन पूरा गरेको हुँ । म भारत फर्किनेछु र यो अभियानलाई अगाडि बढाउनेछु, किनकि मानिसहरू परिवर्तन चाहिरहेका छन् ।’
उनले थपे, ‘हाम्रो स्थापना भएको चौथो दिनमै दुई लाखभन्दा बढी सदस्य दर्ता भएका थिए । यसले संकेत गर्छ कि जेन–जी आफ्नो राजनीतिक मोर्चा चाहन्छ ।’
