सर्लाही, ११ जेठ । डेरी घ्यू जस्तो देखिने वनस्पति घ्यू (बेकरी सर्टेनिङ) लाई शुद्ध घ्यू भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेको खुलेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँले आफ्नो कार्यक्षेत्र भित्र पर्ने छिमेकी जिल्लामा अनुगमन र कारबाही सुरु गरेसँगै यस्तो अनुचित व्यापारिक क्रियाकलाप सार्वजनिक भएको हो ।
डिभिजन कार्यालय, पालुङटार नगरपालिका गोरखा र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको संयुक्त अनुगमन टोलीले ठाँटीपोखरी बजारमा बेकरी सर्टेनिङ लक्षित अनुगमन गरी अवैध सामग्री जफत गरेको छ ।
टोलीले सङ्घीय सरकार तथा स्थानीय तहले समेत प्रतिबन्ध लगाएको १० केजी तौलभन्दा कमका (आधा केजीका बट्टा) बेकरी सर्टेनिङ जफत गरी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ ।
अधिकतम खुद्रा मूल्य (एमआरपी) का आधारमा जफत गरिएको सामग्री करिब ३३ हजार आठ सय ८० रुपियाँ बराबरको रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य अनुसन्धान अधिकारी ज्योति आचार्यले विभागको निर्णय र मापदण्ड विपरीत बजारमा पठाइएका यस्ता सामग्री नियन्त्रणमा लिन अनुगमन तीव्र पारिएको बताउनुभयो ।
अधिकारी आचार्यले भन्नुभयो, “हाम्रो कार्यक्षेत्र अन्तर्गत नवलपुर, गोरखा र लमजुङका बजारहरूमा अनुगमन गरी यस्ता कमसल सामग्री जफत गर्ने कार्य भइरहेको छ ।
अब तुरुन्तै तनहुँ जिल्लाका विभिन्न बजारहरूमा पनि टोली खटाएर यस्ता झुक्यानमा पार्ने खेल विरुद्ध सघन अनुगमन र कारबाही अगाडि बढाउँदै छौँ ।”
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले उद्योगमा प्रयोग हुने सेतो रङको बेकरी सर्टेनिङमा डेरी घ्यूको जस्तो पहेँलो रङ मिसाएर उपभोक्ता भ्रमित पार्ने काम भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थोक खरिद बिलमा १४० रुपियाँ मात्र रहेको आधा केजीको बट्टामा एमआरपी ४५० रुपियाँसम्म राखी विक्रेताले दोब्बर–तेब्बर नाफा कमाउन उपभोक्तालाई सस्तो घ्यू भन्दै भिडाउने गरेको पाइएकाले यसलाई राष्ट्रिय स्तरमै नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
