सर्लाही, ११ जेठ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले गुरुङको बयान लिने भएको छ ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
उक्त समितिले आधा जति काम सकिसकेको छ । समिति स्रोतका अनुसार अब गुरुङमाथि बयान लिने काम अघि बढाइने छ । अहिलेसम्म समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको छ ।
छानबिन आधा जति सकिएकाले अब गुरुङको बयान लिने तयारी समितिले गरेको हो । ‘अब हामी प्रश्न उठेका विषयहरूमा माननीयज्यू (सुधन गुरुङ)सँग सोधपुछ गर्छौं,’ समिति स्रोतले भन्यो ।
समितिका अध्यक्ष भण्डारीका अनुसार गुरुङ मन्त्री भएका बेला उठेका विषयमा छानबिन गर्ने कार्यक्षेत्र तोकिएकाले अहिले त्यहीअनुसार काम भइरहेको छ ।
‘हाम्रो कार्यक्षेत्र भनेकै मन्त्री हुँदा उठेका विषयहरूको छानबिन गर्न प्रतिवेदन तयार गर्ने र सुझाव दिने भन्ने छ । सोहीअनुसार हामीले काम गरिरहेका छौं,’ भण्डारीले भने ।
के हो सुधनमाथिको आरोप ?
सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।
सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।
राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’
छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो ।
