काठमाडौं, १२ जेठ । । चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । तर तत्काल मानवीय क्षति वा भौतिक क्षतिको कुनै रिपोर्ट प्राप्त भएको छैन ।
अमेरिकी निकायका अनुसार भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा, कालामा सहरबाट करिब ३१ किलोमिटर दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको थियो ।
चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्पबाट सुनामीको जोखिम नरहेको र हालसम्म घाइते वा गम्भीर क्षतिको कुनै विवरण नआएको जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
दक्षिण अमेरिकी मुलुक चिली विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित हुने देशमध्ये एक हो । चिलीका नागरिकहरू ७.० म्याग्निच्युडभन्दा कम शक्तिका भूकम्पलाई सामान्य रूपमा ठूलो चिन्ताको विषय मान्दैनन् ।
चिलीको भूभागभित्र नाज्का, दक्षिण अमेरिकी र अन्टार्कटिक गरी तीन वटा टेक्टोनिक प्लेट एकआपसमा जुध्ने क्षेत्र रहेको छ, जसका कारण भूकम्प गइरहन्छ ।
सन् १९६० मा चिलीको दक्षिणी सहर भाल्डिभिया ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट तहसनहस भएको थियो । यसलाई अहिलेसम्म रेकर्ड गरिएको विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । उक्त घटनामा ९ हजार ५०० जनाको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २०१० मा मध्य चिलीको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबाट आएको सुनामीका कारण ५२० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
