सर्लाही, १२ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग राखेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको विषय कार्यदलमा मात्रै सीमित रहन नहुने बताएका हुन् ।
‘संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्रै सीमित रहनु हुँदैन,’ उनले भने, ‘यसका लागि पूर्वप्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल र राजनीतिक दलका व्यक्तिहरू सहभागी गाराई एउटा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरुरी छ ।’
उक्त आयोगमार्फत राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘सत्तावरिपरिको बहसले मात्रै संविधान संशोधन हुँदैन, बृहत् राष्ट्रिय संवादबाट मात्रै यसको वैधता, जनविश्वास र राष्ट्रिय सहमति गर्न सक्छ’, केसीले भने ।
