सर्लाही, १३ जेठ । जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट छनोटमा नेपालले बुधबार चीनको सामना गर्दै छ । चीन र नेपालबिचको यो खेल मलेसियाको वायुमास मैदानमा हुनेछ ।
नेपालले सात वर्षपछि चीनको महिला राष्ट्रिय टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले अन्तिमपटक चीनसँग २०१९ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेको थियो ।
दुवै टोलीले आइसिसीको टी–२० आईमा मान्यता पाएपछि एकआपसमा दुईपटक भिडेका छन् । जसमा नेपालले जित निकालेको थियो ।
सन् २०१९ मा बैंककमा भएको स्मास टी–२० मा नेपालले चीनलाई १० विकेटले पाखा लगाएको थियो । पहिलो ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो ।
नेपालले ८.४ ओभरमा विकेट नगुमाएर ४९ रन जोड्यो । सो खेलमा करुण भण्डारीले ९ रन खर्चेर तीन विकेट लिएकी थिइन् । लक्ष्य पछ्याएको इनिङ्समा सीता रानामगरले २५ बलमा २४ रन बनाएकी थिइन् ।
यसैगरी, ओपनर रुविना क्षेत्रीले २९ बलमा १४ रन बनाइन् । यी दुवै खेलाडी चीनविरुद्ध तेस्रोपटक भिड्दा खेल्नेछन् । यसैगरी, आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले चीनलाई झिनो पाँच रनले हराएको थियो ।
यो खेल सन् २०१९ को फेब्रुअरीमा बैंककमै भएको थियो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन जोडेको थियो ।
प्रत्युत्तरमा चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७७ रन बनायो । सो खेलमा पनि सीताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङमा ११ रन तथा बलिङमा तीन विकेट लिएकी थिइन् ।
वरीयतामा नेपाल अगाडि
नेपाल र चीनले सन् २०१९ मा एकैपटक आइसिसी टी–२० आइ मान्यता पाएका थिए । वरीयतामा नेपाल २२औँ र चीन ४३औँ स्थानमा छ ।
नेपालले अहिलेसम्म ९४ टी–२० आई र चीनले ५४ टी–२० आई खेलेका छन् । नेपाले अहिलेसम्म ५५ जित र ३८ खेलमा हार सामना गरेको छ ।
यो सिजनमा नेपालले १४ टी–२० आई खेल्दा ८ मा जित र ६ खेलमा हार सामना गरेको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय टी–२० आई खेल चीनसँगै थियो ।
यसैगरी, चीनले अहिलेसम्म ५४ खेलमा २४ जित र २८ खेलमा हारको नतिजा निकालेको छ । यस वर्ष चीनले केवल पाँचवटा मात्र टी–२० आई खेलमा सहभागिता जनाएको छ । जसमा एकमा जित र तीन खेलमा हार निकालेको छ ।
