सर्लाही, १५ जेठ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम मधेश प्रदेश सरकारले शुक्रबार सार्वजनिक गर्दैछ ।

संघीय सरकारले बजेट सार्वजनिक गर्ने भएको छ । शुक्रबार साँझ ४ बजेतर्फ बजेट प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गर्नेछन् ।

यता शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस पटकको बजेटका लागि नीति तथा कार्यक्रममै स-साना टुक्रे योजनाहरू निरुत्साहित गरिएको बताइएको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले स-साना टुक्रे योजनाहरू निरुत्साहित गरी एक करोडभन्दा माथिको बहुवर्षीय, गौरवको योजना र मझौला योजनाहरूमा जोड दिइएको बताएका छन् ।

उनले भने, ‘अन्य वर्षको तुलनामा यस वर्ष फरक किसिमको आवश्यकता र क्षमताको आधारमा तयार पारिएको हो । आउँदो नीति तथा कार्यक्रममा रोजगार सिर्जना, गरीबी न्यूनीकरण, जिडीपी वृद्धि, आर्थिक र सामाजिक विकासका योजनालाई प्राथमिकतामा राखिएको छ ।’

उनले दिएको जानकारी अनुसार अन्य आर्थिक वर्ष जस्तै यस वर्षपनि कृषि उत्पादन, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक आवश्यकताका योजनाहरुमा बढी जोड दिइएको छ ।

कृषिका लागि सिचाईको योजनाहरु, शिक्षातर्फ प्रशिक्षण र तालिमभन्दा पनि विद्यालयमा पूर्वाधार निर्माण, स्वास्थ्य उपकरण तथा पूर्वाधार निर्माण, पर्यटनका लागि सिमित योजना, मझौला उद्योगहरु स्थापना लगायतका कुरा समेटिएको बताइएको छ ।

पछिल्ला वर्षहरु जस्तै यसवर्षको बजेट पनि नीति तथा कार्यक्रमभन्दा फरक आउने हो कि भन्ने प्रसँगमा उनले भने ‘ आउँदो नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट के कस्ता विषयमा समेट्ने छलफल गरी नै तयार पारिएको छ । तर पछिल्ला वर्षहरूमा यस्तो हुने गरेको थिएन ।

छलफल बिनाको नीति तथा कार्यक्रम ल्याउँदा बजेट फरक हुन सक्थ्यो । तर यस पटक त्यस्तो हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *