सर्लाही, १६ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी तथा खेलकुद क्षेत्रका विभिन्न योजना अघि सारेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने, जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउने तथा रामजानकी पथ र परिक्रमा सडक स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।
बर्दिबास-काठमाडौँ द्रुत रेलमार्ग, बर्दिबास-विराटनगर रेलमार्ग तथा जनकपुर-जयनगर-बर्दिबास रेलमार्गका लागि बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
कृषि क्षेत्रमा सिरहा-सप्तरीमा आँप प्रशोधन केन्द्र र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ भने खानेपानीका २८० अधुरा आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । खेलकुदतर्फ ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माण गर्ने योजना समावेश गरिएको छ ।
व्यवसायीहरूले बजेटलाई मधेशमुखी र आकर्षक भने पनि यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहने बताएका छन् ।
