काठमाडौं, १८ जेठ । कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन् । हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन ६ तारिखमा स्वदेश फर्कन लागेका हुन् ।
कक्रोच जनता पार्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् दिपके भारत फर्किन लागेको जानकारी दिएको हो । यससँगै पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीमा प्रदर्शनको आह्वान समेत गरेको छ ।
भारतमा विभिन्न महत्वपूर्ण परीक्षा अगावै प्रश्नपत्र चुहिएपछि शिक्षामन्त्रीको राजीनामा माग्न थालिएको छ । विभिन्न महत्वपूर्ण परीक्षामा समस्या देखिँदा भारतका १ करोडभन्दा बढी विद्यार्थीहरूको भविष्य संकटमा परेको भन्दै यो कदम चालिएको पार्टीको दाबी छ ।
कतिपय विद्यार्थीहरूले यसै तनावका कारण आफ्नो ज्यान समेत गुमाउनुपरेको परिस्थितिमा पनि सरकारबाट कुनै ठोस जिम्मेवारी नलिइएको आरोप लगाइएको छ ।
पार्टीले दिल्लीस्थित जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अभियानलाई सशक्त बनाउन संस्थापक दिपकेले समर्थकहरूलाई आफू स्वदेश फर्किने दिन विमानस्थलमै उपस्थित हुन र त्यहाँबाट एकजुट भई जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शनको अनुमति माग्न पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेशन जाने आह्वान गरेका छन् ।
