सर्लाही, १८ जेठ । आइतबारको प्रतिनिधिसभा बैठक तानवग्रस्त रह्यो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली जबर्जस्त पारित गराउन खोज्दा विपक्षी सांसद र सभामुखबीच घम्साघम्सी चल्यो । नियमावली पारित गर्न सभामुख मर्यादापालकको घेरामा बस्न बाध्य भए ।
बैठकको कार्यसूचीमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची थियो । बैठकको सुरुमा नै नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि संसदमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको थियो ।
प्रस्ताव मस्यौदा निर्माण समितिका सभापति तथा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।
नियमावलीमाथि सांसदहरूले राखेको संशोधन निर्णयार्थ पेस गर्नेबेला भने विपक्षी दलहरूले नियमावलीमाथि थप छलफल गर्नुपर्ने माग गर्दै समितिमा पठाउन माग गरेका थिए ।
तीनवटा बैठक चलेको आइतबार सबै बैठक तनावग्रस्त रहे । विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्दै सभामुखको माइक खोस्न खोजेका थिए । माइक खोस्ने प्रयासमा रहेकी एमाले सांसद रिंगला यादवका गतिविधि अहिले भाइरल भएका छन् ।
संसदमा भएको गतिविधिबारे सांसद यादवले कुराकानीको सम्पादित अंश प्रस्तुत छ :
मैले गर्न खोजेको केही थिएन । हामीले नियमावलीमा संशोधन हालेका थियौँ । समितिबाट संशोधन गरेर टेबल गरौँ भन्ने माग थियो । तर, उहाँ (सभामखु)ले सुन्नु भएन । उहाँ एकपक्षीय हुनुभएको छ । हाम्रो विरोध हुन्छ जहिले पनि उहाँले पेलेरै लैजानुहुन्छ ।
उहाँ सत्तापक्षको सभामुख होइन, सदनको सभामुख हो । हाम्रो अभिभावक हो । जे–जसरी उहाँले सिकाउनुहुन्छ त्यसैअनुसार हामी जाने हो । रुने–कराउने ठाउँ हाम्रो अरु छैन । मन्त्रालयको कुरा थियो भने सम्बन्धित मन्त्रालयमा गएर रोइकराइ गर्ने हो । सदनको कुरा अभिभावलाई राख्ने हो । उहाँले सत्तापक्षलाई कम प्रतिपक्षलाई बढी माया देखाउनुपर्ने हुन्छ ।
उहाँले हामीलाई मात्र मर्यादा मर्यादा भन्नुहुन्छ । तर, सभामुख भएर कतिको मर्यादापालना गर्नुभएको छ ? प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जनाले प्रश्न सोध्न पाउँछन् । तीन दिनअघि नै प्रश्न लिखित रूपमा दर्ज गराउनुपर्छ । त्यसमा उहाँले हाकाहाकी झुट बोल्नुभयो ।
प्रधानमन्त्रीजीले सदनमा आएर भारतले लिपुलेक लिम्पियाधुरा मिचेको मात्र नभएर नेपालले पनि भारतको सीमा मिचेको छ भन्नुभयो । त्यस्तो अभव्यिक्ति दिँदा सत्तापक्षले हाई–हाई गर्ने टेबुल ठोक्ने ताली बजाउने । अनि हामीले जनताको लागि माग राख्दा सुनुवाइ नहुने ? हामीले व्यक्तिगत स्वार्थका कुरा माग गरेका हौँं र ?
हामीले उहाँलाई हातपात गर्ने तथा सदनलाई अपमान गर्न खोजेको होइन । हामीले माइक खोस्न खोजेको हो । त्योबेलामा सत्तापक्षको बहुमत थिएन ४०/४५ जना हुनुहुन्थ्यो । हामीले माइक खोस्यौँ भने सभामुख बोल्न पाउनुहुन्न र नियमावली पारित हुँदैन भन्ने थियो । माइक खोस्न जाँदा हातपात गर्न गएको भनेर प्रचार भएको छ । हात उठाएर नारा लगाउँदा एआईको प्रयोग गरेर मुक्का ताकेको बनाइएको छ ।
