सर्लाही, १८ जेठ । सर्लाही प्रहरीले ५७ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
गत जेठ १६ गते इप्रका केशरगञ्जबाट खटिएको प्रहरी टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरस्थित जब्दी पुल नजिक चेकजाँच गरिरहेको थियो ।
सोही क्रममा लालबन्दीबाट बयलबासतिर आउँदै गरेको बागमती प्रदेश ०२–०६२ प ७०७३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरूले मोटरसाइकलमा बोरा राखि तीव्र गतिमा आइरहेका थिए ।
प्रहरीले रोक्न खोज्दा मोटरसाइकलसहित भाग्न खोजेपछि प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुर टोल बस्ने २७ वर्षीय थम्बड लामालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकलको पछाडि सवार अर्का एक व्यक्ति भने फरार भएका छन् ।
प्रहरीले मोटरसाइकलको पछाडिको सिटमा रहेको दुईवटा बोराहरू खानतलासी गर्दा रातो प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा ५/५ गरी जम्मा १० पोका गाँजा बरामद गरेको हो । उक्त गाँजाको तौल प्लाष्टिकसहित ५७ केजी रहेको छ ।
पक्राउ परेका थम्बड लामा र बरामद गरिएको मोटरसाइकललाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
