सर्लाही, २२ जेठ । वैज्ञानिकहरूले ब्याट्रीविना नै इलेक्ट्रोनिक उपकरणहरू सञ्चालन गर्न सक्ने एउटा नयाँ क्वान्टम प्रभाव पत्ता लगाएका छन् ।

‘क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी’ र सिङ्गापुरको ‘नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी’ का अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले एडभान्स मटेरियलमा हुने सूक्ष्म त्रुटिहरू र आणविक कम्पनको मद्दतबाट एउटा शक्तिशाली क्वान्टम प्रभावलाई नियन्त्रण गर्न सकिने विधि पत्ता लगाएका हुन् ।

यस अनुसन्धानका अनुसार ‘ननलाइनियर हल इफेक्ट’ भनिने यो क्वान्टम प्रक्रियाले वातावरणमा उपलब्ध विभिन्न वैकल्पिक विद्युतीय सङ्केतहरू (जस्तै वायरलेस तरङ्गहरू) लाई सिधै डिसीमा परिणत गर्न सक्छ । यसका लागि परम्परागत डायोड वा अन्य ठुला इलेक्ट्रोनिक पाटपुर्जाहरूको आवश्यकता पर्दैन ।

वैज्ञानिकहरूका अनुसार यस प्रविधिको मुख्य विशेषता यो हो कि तापक्रम परिवर्तन हुँदा उत्पन्न हुने विद्युतीय सङ्केतको दिशासमेत उल्टिन सक्छ, जसले उपकरणको कार्यक्षमतालाई अनुकूलन गर्ने नयाँ तरिका दिन्छ ।

न्यून तापक्रममा सामग्रीभित्रका साना त्रुटिहरूले यस प्रभावलाई बढी असर गर्छन् भने तापक्रम बढ्दा यसको क्रिस्टल संरचनामा हुने प्राकृतिक कम्पन महत्त्वपूर्ण बन्न पुग्छ ।

यो क्वान्टम प्रभाव सामान्य कोठाको तापक्रममा पनि स्थिर रहने पाइएकाले यसलाई प्रयोगशाला बाहिर व्यावहारिक प्रयोगमा ल्याउन सहज हुने अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो खोजले भविष्यमा ब्याट्रीविना नै चल्ने सेल्फ-पावर्ड सेन्सर, वेरेबल प्रविधि र तीव्र गतिको वायरलेस नेटवर्कका पार्टपुर्जाहरू विकास गर्न ठूलो मद्दत पुऱ्याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *