सर्लाही, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् र आपतकालीन अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।
शुक्रबार सर्लाहीको बागमतीमा आयोजित मधेश प्रदेशस्तरीय अभ्यास हातेमालो आठौँ संस्करण–२०८३ लाई सम्वोधन गर्दै मुख्यमन्त्री यादवले सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “आपतकालीन अवस्थामा तपाईहरु जस्ता सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका अति महत्वपूर्ण, जिम्मेवारीपूर्ण र प्रशंसायोग्य रहँदै आएको छ ।”
यस्ता अभ्यासले सम्भावित आगलागी तथा मनसुनजन्य बाढी, डुबानजस्ता विपद्को घटनामा एकीकृतरूपमा परिचालित हुन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्ला समयमा मनसुनको प्रभाव विनाशकारी बन्दै गएकोप्रति मुख्यमन्त्री यादवले चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तन, असन्तुलित सहरीकरण, वन विनाश र नदी प्रणालीमा आएको असन्तुलनका कारण बाढी, पहिरो र आगलागीको जोखिम झन गम्भीर बनेको मुख्यमन्त्री यादवले बताउनुभयो ।
यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले विपद्का घटनासँग जुध्न सबै सुरक्षा निकायसँग समन्वय गर्दै सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री, प्रदेशका अन्य मन्त्री, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय सेवा दल (एनसिसि) ले संयुक्त रुपमा आगलागी, बाढी, डुबानलगायतको प्रतिकार्य अभ्यास प्रदर्शन गरेका छन् ।
मनसुन सक्रिय हुनुअघि मधेशमा बर्सेनि यस प्रकारको प्रतिकार्य अभ्यास आयोजना गर्ने गरिएको छ ।
