सर्लाही, २२ जेठ । सर्लाही सदरमुकाम मलंगवामा उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा (आज) शुक्रबार मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले वर्षौंदेखि रोकिएको उखु किसानहरूको बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गरेका थिए ।

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नाराबाजीसमेत गरेका थिए । उनीहरूले उखु बिक्री गरेबापत पाउनुपर्ने रकम समयमै प्राप्त नहुँदा किसानहरू ऋण, आर्थिक अभाव तथा दैनिक जीवनयापनका समस्याबाट प्रभावित भएको बताएका छन् ।

खेतीपातीको लागत निरन्तर बढ्दै गए पनि आफ्ना उत्पादनको उचित मूल्य नपाउनु दुःखद अवस्था भएको उनीहरूको भनाइ थियो ।

उनीहरूले असार मसान्तभित्र किसानहरूको बक्यौता रकम भुक्तानी नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

आवश्यक परे जिल्लादेखि केन्द्रसम्म दबाबमूलक आन्दोलन सञ्चालन गरिने तथा किसानको हक सुनिश्चित नभएसम्म संघर्ष जारी रहने उनीहरूको अडान छ ।

सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्लाका उखु किसानहरू लामो समयदेखि उद्योगहरूबाट पाउनुपर्ने रकमको प्रतीक्षामा छन् ।

किसानहरूले पटक-पटक आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *