सर्लाही, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहका निर्वाचन सम्पन्न गरेपछि जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ र आज जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनहरू सञ्चालन गरिएका हुन् ।

आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरण भएको बताएका छन् ।

उनले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै प्रत्येक जिल्लामा ३ सदस्यीय तथा प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको जानकारी दिए ।

आयोगका अनुसार हालसम्म ४ हजार २४६ वडा समितिको अधिवेशन सम्पन्न भएको छ भने थप ४ तदर्थ वडा समिति अद्यावधिक गरिएका छन् ।

यस्तै ५१२ पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको छ भने थप ४ तदर्थ पालिका समिति अद्यावधिक गरिएको जनाइएको छ ।

राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको आयोगले जनाएको छ ।

जसअनुसार आज सातै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन भइरहेको छ भने आज थप २७ जिल्लामा निर्वाचन हुनेछ । विशेष साङ्गठनिक परिस्थितिका कारण एक जिल्लाको निर्वाचन जेठ २६ गतेका लागि तय गरिएको छ ।

सोही दिनबाट बागमती प्रदेशमा प्रदेश अधिवेशनको समेत सुरुवात हुने आयोगले जनाएको छ । सातवटै प्रदेशमा प्रदेश अधिवेशन सञ्चालनका लागि ५ सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी काम सुरु भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यतालिकामा समावेश नभएका बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि क्रमशः सञ्चालन गरिने आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *