सर्लाही, २४ जेठ । सर्लाहीको बरहथवा नगरपालिका–१६, बैरहरियामा बयलगाडा (गोरुगाडा) ले किचेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय खैरु पण्डित कुम्हालले घरबाट खेततर्फ चलाएर लाँदै गरेको बयलगाडाले किच्दा सोही ठाउँका कृष्ण कुम्हालका छोरा नौ वर्षीय सुभास कुम्हालको मृत्यु भएको हो ।
बयलगाढामै सवार बालकलाई बयलगाडाबाट लडेर खिच्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो बयलगाडाबाट लडेर किच्दा गम्भीर घाइते भएका बालकलाई नगर अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज न्युरो अस्पताल पर्सा लगिएको थियो ।
बालकको उपचारका क्रममा शनिबार राति १० बजेतिर सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
डीएसपी गौतमका अनुसार बयलगाडा चलाउने खैरु पण्डित कुम्हालको खोजी भइरहेको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि न्युरो अस्पताल वीरगन्ज, पर्सामै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
