सर्लाही, २४ जेठ । नेपालमा मात्र पाइने दुर्लभ एवं रैथाने चरा ‘काँडे भ्याकुर’ पहिलो पटक मधेस प्रदेशमा फेला परेको छ ।

बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित दुधौरा खोला नजिकैको चुरे वन क्षेत्रमा यो चरा फेला परेको हो ।

नेपाल पन्छीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त आयोजनामा मधेस प्रदेशका आठ जिल्लामा जारी चरा सर्वेक्षण क्रममा काँडे भ्याकुर भेटिएको हो ।

पन्छीविद्हरू हठन चौधरी र सुरज बरालको टोलीले २१ जेठ बिहान ८:३० बजे यो चराको अभिलेख गरेका हुन् । महेन्द्र राजमार्गको पूर्वतर्फ पर्ने नमुना महिला सामुदायिक वन क्षेत्रको घाँसे मैदान र झाडीमा काँडे भ्याकुर भेटिएको थियो ।

समुद्री सतहबाट मात्र ४ सय ४३ मिटर उचाइमा यो चरा भेटिनु आफैंमा एउटा रेकर्ड भएको उनीहरूले बताएका छन् ।  उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा गरिएको अभिलेख हो ।

चरा अवलोकन क्रममा वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका विद्यार्थी आशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए ।

वैज्ञानिक नाम एकान्थोप्टिला निपालेन्सिस भएको काँडे भ्याकुर नेपालको मात्र रैथाने चरा हो । यो चरा यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फेला परिसकेको भए पनि मधेसमा भने यसको आधिकारिक अभिलेख हुन सकेको थिएन । बारामा यो चरा भेटिएसँगै अब नेपालका सातै प्रदेशमा यसको भौगोलिक फैलावट रहेको पुष्टि भएको छ ।

नेपाल पन्छीविद् संघ अध्यक्ष हठनराम महतो र मिथिला वाइल्डलाइफ ट्रस्ट अध्यक्ष देवनारायण मण्डलका अनुसार मधेस प्रदेशमा चराको अवस्था र प्रजातिबारे बुझ्न दोस्रो चरणको गर्मीयाम लक्षित सर्वेक्षण भइरहेको छ ।

यो अनुसन्धान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा भइरहेको छ ।

विश्वमा नेपालमा मात्र पाइने हुनाले अन्तर्राष्ट्रिय चराप्रेमी र अनुसन्धानकर्ताका लागि काँडे भ्याकुर निकै आकर्षक र महत्त्वपूर्ण चरा मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *