सर्लाही, २६ जेठ । दूधलाई खाद्यवस्तुका रूपमा मात्र नभई शुद्धता, शक्ति र पोषणको अकाट्य स्रोतका रूपमा लिइन्छ । हरेक दिन बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एक गिलास दूध पूर्ण आहार मानेर ढुक्कसँग पिउन दिइने गरिन्छ ।
घर मात्रै नभई साना चियापसलदेखि ठूला क्याफे तथा तारे होटलसम्म पनि ठूलो परिमाणमा दूध प्रयोग र खपत हुन्छ ।
तर, पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाउँछ ।
बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् ।
नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेको भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३१ वैशाखमा भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका–९ मा सञ्चालित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट गर्न प्रयोग गरिने ५६ किलो ‘डेक्स्ट्रोज मोनोहाइड्रेट’, ९.८६ किलो ‘माल्टोडेक्स्ट्रिन’ र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको थियो ।
यस्ता अखाद्य पदार्थ मिश्रणबाट नक्कली दूध तयार गरी उक्त उद्योगले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र खुल्ला बजारमा समेत बिक्री गर्दै आएको रहस्य खुलेको थियो ।
अनुगमन टोलीले उक्त उद्योगमा पास्चराइजर ट्यांकमा हालेर पगाल्न तयारी अवस्थामा राखिएको ३० किलो ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थ समेत फेला पारेको थियो ।
टोलीले उद्योगभित्रका तीन वटा चिलिङ भ्याटमा भरिएको दूधबाट तीन थान र शंकास्पद चिल्लो पदार्थबाट एक थान नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।
जेठ पहिलो साता डीडीसीले काभ्रेबाट संकलन गरी ल्याएको दूधमा पनि गम्भीर कैफियत फेला पारेको थियो । काभ्रे पनौतीस्थित चिस्यान केन्द्रमार्फत विभिन्न सहकारी र फार्मबाट ल्याइएको ३ हजार २० लिटर दूध अखाद्य पाइएपछि संस्थानले त्यसलाई नियन्त्रणमा लिई नष्ट गरेको थियो ।
प्रयोगशालामा गरिएको प्राविधिक परीक्षणमा उक्त दूधमा चिनी मिसाइएको, अस्वाभाविक गन्ध आएको र तोकिएको न्यूनतम मापदण्ड समेत पूरा नभएको तथ्य पुष्टि भएको थियो ।
बजारमा कमसल दूध पुगिरहेको र उपभोक्ताको विश्वास गुम्दै गएको व्यापक गुनासो आएपछि डीडीसीले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको थियो । सोही क्रममा पनौतीबाट आएको दूधमा यस्तो मिसावट भेटिएको थियो ।
उक्त दूध खरिद प्रकरणमा डीडीसीका कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने आशंका गरिएको थियो ।
यस्तै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिक्री भइरहेका केही दूध आपूर्तिकर्ताको दूधमा सरकारले तोकेभन्दा कम गुणस्तर र मिसावट भेटिएपछि उपमहानगरपालिकाले सूचना नै जारी गरेको थियो ।
बुटवल उपमहानगरपालिका तथा खाद्य प्रविधि एवं गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त टोलीले ७ र ८ मा गरेको अनुगमन क्रममा कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही मर्चवारी र शुद्धोधन गाउँपालिकाबाट आपूर्ति हुने दूधमा गम्भीर समस्या फेला पारेको थियो ।
अनुगमन क्रममा दूध लामो समयसम्म नफाटोस् भन्ने उद्देश्यले सोडा लगायत घातक रसायन मिसाइएको पाइएको थियो । बुटवलका विभिन्न डेरीमा दूध आपूर्ति गर्ने १२ वटा सप्लायर्समध्ये १० वटाको दूधमा यस्ता रसायन मिसावट पुष्टि भएको थियो । साथै, परीक्षण गरिएका नमुनामा दूधमा हुनुपर्ने आवश्यक फ्याट र एसएनएफको मात्रा समेत निकै कम पाइएको थियो ।
