सर्लाही, २६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल संवाद गरेका छन् ।
बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । साथै उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरे ।
बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।
भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
यसअघि सोमबार नै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले गरेका मन्त्री खनालको सचिवालयले जनाएको छ ।
