सर्लाही, २६ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो ।
छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । त्यस्तै सांसद महावीर पुनलाई पनि मन्त्री नियुक्त गर्ने तयारी छ ।
