सर्लाही, २८ जेठ । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट करिब ९० लाख ९६ हजार रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब ११ः३० बजे बौधीमाई नगरपालिका–७, बडा बंकुल टोल स्थित नेपाल–भारत सीमाना नजिक त्रिपालले छोपेर लुकाइछिपाइ राखिएको फर्सीको बिउ बरामद गरिएको हो ।

गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा खानतलासी गर्दा २३२ बोरा फर्सीको बिउ फेला पारेको थियो ।

बरामद गरिएको बिउको तौल ११ हजार ६८० किलोग्राम रहेको प्रहरीले जनाएको छ । प्रति बोरा २८ हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा यसको कुल अनुमानित मूल्य ९० लाख ९६ हजार रुपैयाँ हुन आउँछ ।

प्रहरीले बरामद गरिएको फर्सीको बिउ नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

यसैबीच, बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न ६ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनामा ३ जना स्थानीय र ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *