सर्लाही, १ असार । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीचको प्रतिनिधिमण्डस्तरीय भेटवार्ता आज हुँदै छ ।

बेइजिङमा स्थानीय समयानुसार अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा नेपाल-चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

उनी  चीनका विदेश मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए ।

परराष्ट्रमन्त्री खनालले आइतबार बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रियामा सहभागि भएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकताहरू सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरेका थिए । साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे। मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *