सर्लाही, १ असार । सरकारले अन्तर स्थानीय तहमा शिक्षक सरुवामा केही कडाइ गरेको छ भने यसका लागि परिपत्र गरेको छ।
सोमबार शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्व्य एकाइ र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सरुवामा तीन बुँदे निर्देशन दिएको छ ।
स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनेको छ ।
त्यस्तै, खुद पुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न निर्देशन दिएको छ ।
यससँगै बढुवाका लागि निवेदन पेश गरेका उम्मेदवारको ठाउँमा पनि तत्काल सरुवा सहमति नदिने भनेको छ । यसमा ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका उम्मेवारको हकमा यस्तो निर्देशन जारी गरिएको हो ।

