सर्लाही, ४ असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने बताएका छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले अहिले मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै भए पनि तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए। उनले टेन्डर गर्दा चालु वर्षकै दररेटमा गर्ने गर्ने र मूल्य वृद्धिका आधारमा यसलाई स्वतः समायोजनको व्यवस्था गर्ने बताए।
उनले पहिलो ६ महिना टेन्डरकै लागि समय लाग्ने भएकोले यो वर्ष बजेट कम देखिएको बताए । तीन वर्षको ठेक्का एकै पटक लगाउँदा यसले २०/२२ महिना लाग्ने समय ६/७ महिनामा झर्ने भन्दै यसले बाँकी अवधि बचत गर्ने बताए ।
